टी–२०आई सिरिजको फाइनलमा नेपाल र कुवेत भिड्ने

spot_img

काठमाडौं, ३० चैत्र । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र कुवेत आमनेसामने हुने भएका छन्। शनिबार नेपाल र आयोजक हङकङबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालले १ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

तीन खेलमा दुई जित र एक खेल रद्द भएसँगै नेपालको ५ अंक भएको छ। कुवेतले पनि दुई जितसहित ४ अंक जोड्दै फाइनलमा पुगेको हो। समूह चरणको अन्तिम खेल निर्णायक बनेको थियो, जसमा नेपालले फाइनल पुग्ने सम्भावना वर्षाले सहज बनाइदिएको हो।

हङकङविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाइसकेको अवस्थामा झरीले खेल प्रभावित बनायो। केही समयपछि मौसम खुले पनि प्रकाश पर्याप्त नभएपछि पुनः झरी सुरु भएपछि खेल स्थगित भयो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई सहज रूपमा हराएको थियो भने दोस्रो खेलमा कुवेतमाथि सशक्त प्रदर्शन गर्दै जित हात पारेको थियो। अब नेपाल र कुवेतबीचको उपाधि भिडन्त विशेष चासोको विषय बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय