काठमाडौं,०१ वैशाख । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानलाई ११७ रनमै समेटेको छ। नेपाललाई जितका लागि ११८ रनको लक्ष्य प्राप्त भएको छ।
टस जितेर ब्याटिङ रोजेको ओमानले ३८ ओभरमै सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो। ओमानका लागि जित व्रजेश शाहले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ७८ बलमा ६ चौका प्रहार गरे।
नेपालको बलिङमा युवराज खत्री चम्किए। उनले ७ ओभरमा २ मेडनसहित मात्र १५ रन खर्चेर ५ विकेट लिँदै आफ्नो फाइफर पूरा गरे। उनले ओमानको मध्य र तल्लो क्रमका ब्याटरहरूलाई धरासायी बनाए।
त्यस्तै, यादवले २ विकेट लिए भने दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेलले समान १–१ विकेट हात पारे।
नेपालका बलरहरूको उत्कृष्ट प्रदर्शनपछि अब ब्याटिङमा पनि सहज लक्ष्य पछ्याउँदै प्रतियोगितामा बलियो प्रभाव पार्ने अवसर नेपालसँग रहेको छ।

