काठमाडौँ, ३ वैशाख । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सन् २०२५ का लागि विश्व आर्थिक मञ्च (World Economic Forum) अन्तर्गतको युवा विश्व नेताहरूको मञ्च (Young Global Leaders Forum) मा चयन भएकी छिन्।
स्वीजरल्याण्डको जेनेभाबाट सार्वजनिक गरिएको सूचीमा दक्षिण एशियाबाट ११ जना युवा नेता समेटिएका छन्, जसमा नेपालबाट डंगोल एक्ली प्रतिनिधिका रूपमा चयन भएकी हुन्।
डंगोल यसअघि ग्लोबल सेपर्स काठमाडौँ हबको सदस्य भइसकेकी छन्। यसपटक ५० देशका ११६ जना ४० वर्षमुनिका युवा नेताहरूको समूहमा, सरकार क्षेत्रको प्रतिनिधित्व गर्दै उनी चयन भएकी हुन्।
विश्व आर्थिक मञ्चले आफ्नो वेबसाइटमा डंगोलको संक्षिप्त परिचय दिँदै लेखेको छ, “उहाँ युवालाई प्रेरणा दिने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ।”
चयनपछि डंगोलले भनिन्, “विश्वस्तरको मञ्चमा प्रतिनिधित्व पाउनु थप जिम्मेवारी हो। अबका दिनमा अन्तर्राष्ट्रिय नेताहरूको सहकार्यबाट युवा नेतृत्वको विकासमा योगदान दिनेछु।”
फोरममा विभिन्न क्षेत्रबाट युवा नेताहरू समेटिएका छन् — शिक्षा (१०), कला-संस्कृति-खेल (८), व्यापार (४९), नागरिक समाज (११), मिडिया (५), सरकार (१९), र सामाजिक उद्यम (१३)।
युवालाई व्यवहारिक समाधानका लागि उत्प्रेरित गर्ने उद्देश्यसहित फोरमले नयाँ दृष्टिकोण विकासमा प्रविधि र एआई प्रयोग गर्दै परिवर्तनशील नेतृत्व उत्पादन गर्ने लक्ष्य लिएको छ।
सन् २००४ मा स्थापना भएको यो मञ्चमा हालसम्म १२० देशका १,४०० भन्दा बढी युवा नेताहरू आबद्ध भइसकेका छन्।

