काठमाडौं, ३ वैशाख ।आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो जित हासिल गर्दै हङकङलाई ९ विकेटले सहज रूपमा पराजित गरेको छ। मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले ११६ रनको सामान्य लक्ष्य १२.३ ओभरमै पूरा गर्दै शानदार जित दर्ता गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमै समेटियो। कप्तान शिव माथुरले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए। अन्य ब्याटरमध्ये अर्या पन्जावनीले १३, विर माथुरले १२ र ह्यारी थोमस होड्सनले १० रन जोडे भने बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि बलिङमा युवराज खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। विपिन शर्माले ३, सन्तोष यादवले २ र असोक धामीले १ विकेट लिए।
जवाफी ब्याटिङमा नेपालले ओपनर शाहिल पटेल र निरज कुमार यादवको आक्रामक सुरुवातमा ५ ओभरभित्रै ५० रन जोड्यो। पहिलो विकेटको साझेदारीमा ५५ रन बनाएका उनीहरूबाट निरजले १६ रन बनाए भने शाहिल पटेलले अविजित ४२ रन बनाए। उनले ४१ बलमा ८ चौका प्रहार गरे। कप्तान नरेन भट्टले ३९ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए।
नेपालले यसअघि युएईलाई ५ रनले र ओमनलाई ८ विकेटले पराजित गरिसकेको छ। तीनै खेलमा जित दर्ता गर्दै नेपालको शीर्ष स्थानमा उक्लिने सम्भावना बलियो भएको छ।

