धनगढी, ४ चैत्र । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा २७ चैतमा मृत फेला परेका ३५ वर्षीय जगदीश कैनीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बैतडीको डिलासैनी गाउँपालिका–३ निवासी हेमन्तबहादुर बोहरा हुन्।
बोहरालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै हत्या पुष्टि भएको जानकारी दिएको हो। प्रहरीले बताएको अनुसार, घटनाको अनुसन्धानका क्रममा संकलित सीसीटीभी फुटेज र सुराकीको आधारमा बोहरालाई अत्तरियाकै दुर्गा मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
बोहराले प्रारम्भिक बयानमा हत्या गरेको स्वीकार गर्दै राति मदिरा सेवनपछि कैनीसँग विवाद उत्पन्न भएको, र कैनीले पैसा चोरेको शंका लागेपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको बताएका छन्। हत्या पछि शव मन्दिरको दक्षिणपट्टि घिसारेर फालेको पनि बयान दिएका छन्।
प्रहरीका अनुसार, बोहरा पूर्व सशस्त्र प्रहरी हुन्, जसले आठ वर्षसम्म सेवा गरेका थिए। केही समयदेखि उनी अत्तरियामा होटलहरूमा काम गर्दै सडकपेटीमै बस्ने गरेका थिए। मृतक कैनी पनि मागेर खाने र मन्दिर क्षेत्रमा बस्दै आएका थिए।
यस घटनामा अनुसन्धानका क्रममा प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिए पनि उनीहरूको संलग्नता पुष्टि नभएपछि रिहा गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

