जनकपुर, ६ वैशाख । रौतहट जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा भीषण आगलागी हुँदा करिब १ करोड ९७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। आगलागीको घटनाहरू जिल्ला सदरमुकाम गौर र बौधिमाई नगरपालिका–५, कोपवा गाउँमा भएका हुन्।


धर्मेन्द्र जैसवालको तीन तल्ले पक्की घरको अन्डरग्राउन्डमा रहेको गोदाममा बिहीबार राति साढे ८ बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।
गोदाममा रहेको कपडा, चप्पल, मोटरसाइकल र घरसहित करिब १ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। दमकल र प्रहरी टोलीसँगै गाउँलेको सक्रियतामा राति ९ बजे आगो नियन्त्रणमा आएको हो। यस घटनामा मानवीय क्षति भने हुन पाएन।

त्यही राति ९ बजे गौरको कबिर चोकमा कृष्णनन्दन पेटलको कच्ची घरमा आगलागी भएको थियो। आगलागीबाट घर, ५ थान मोटरसाइकल, पानी तान्ने मोटरलगायत २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रवक्ता रायले जनाए।
तराई–मधेश क्षेत्रमा गर्मी सुरु भएसँगै आगलागीका घटनाहरूमा तीव्र वृद्धि भएको देखिन्छ। समयमै नियन्त्रणमा लिइएकाले ठूला दुर्घटनाबाट जोगिएको भए पनि सतर्कता आवश्यक रहेको स्थानीय प्रशासनले बताएको छ।