काठमाडौं,०७ वैशाख । डिजिटल सेवामा कर (DST) लगाउने देशहरूप्रति अमेरिका र इटालीले कडा असन्तुष्टि जनाउँदै संयुक्त रूपमा चेतावनी दिएका छन्। अमेरिकी प्रविधि कम्पनीहरू जस्तै गुगल, फेसबुक, एप्पल र अमेजन जस्ता कम्पनीहरूलाई लक्षित गर्दै विभिन्न देशले लागू गर्दै आएको DST नीतिले “पक्षपाती” व्यवहार देखाएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
हालै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच वासिङ्टनमा भएको भेटपछि संयुक्त वक्तव्य जारी गरिएको हो। रोयटर्सका अनुसार, उक्त वक्तव्यमा डिजिटल सेवा करले अमेरिकी प्रविधि कम्पनीहरूमाथि अन्याय भएको भनिएको छ।
ट्रम्पले यसअघि नै DST लागू गर्ने फ्रान्स, बेलायत, क्यानडा लगायत देशहरूमाथि अनुसन्धान थाल्न र सम्भावित ट्यारिफ लागू गर्न आफ्ना व्यापार प्रतिनिधिलाई निर्देशन दिएका थिए।
नेपालले पनि अहिले विदेशी प्रविधि कम्पनीहरूलाई वार्षिक कारोबारको २ प्रतिशत दरले डिजिटल सेवा कर लगाउँदै आएको छ। यता भारतले भने ट्रम्पको चासो सार्वजनिक भएपछि मार्चको अन्त्यतिर आफ्नो ६ प्रतिशत डिजिटल विज्ञापन कर हटाएको हो।
इटालीमा वार्षिक ७५० मिलियन युरोभन्दा बढी कारोबार गर्ने प्रविधि कम्पनीहरूले ३ प्रतिशत DST तिर्नुपर्ने कानुनी व्यवस्था छ, जसबाट करिब ५ सय मिलियन युरो राजस्व संकलन हुने बताइएको छ।
तर इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले यस विषयमा युरोपेली संघको तर्फबाट हैन, अमेरिका–इटालीबीच प्रत्यक्ष वार्ता हुनुपर्नेमा जोड दिएका छन्। आगामी G20 सम्मेलनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग यो विषयमा छलफल हुने जानकारी समेत दिएका छन्।
वक्तव्यमा इटालीले अमेरिकाबाट आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड सेवा र कम्प्युटिङ क्षेत्रमा लगानीको स्वागत गर्ने बताएको छ। अमेजनको क्लाउड सेवा इकाई ‘AWS’ ले पनि पाँच वर्षभित्र इटालीमा १.२ अर्ब युरो लगानी गर्ने घोषणा गरिसकेको छ।

