सिड्नी, ७ वैशाख । अष्ट्रेलियाको पूर्वी तटमा इस्टर सप्ताहन्तका अवसरमा समुद्रमा बढ्दो छालका कारण दुर्घटनाहरू बढिरहेका छन्। आइतबार सिड्नी नजिकै चट्टानबाट खस्दा एक मछुवाको मृत्यु भएको छ। योसँगै छुट्टीको सप्ताहन्तमा डुबेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
न्यु साउथ वेल्स प्रहरीले जनाएको अनुसार, सिड्नीको दक्षिणी भागस्थित वाट्टामोला समुद्री किनार नजिक माछा मारिरहेका दुई जनामध्ये एक जना चट्टानबाट खसेपछि गम्भीर घाइते भएका थिए। उद्धार गरिए पनि तीमध्ये एकको घटनास्थलमै मृत्यु भएको हो। अर्का व्यक्ति, १४ वर्षीय किशोर, अहिले अस्पतालमा उपचाररत छन् र अवस्था स्थिर रहेको बताइएको छ।
यसअघि शुक्रबार र शनिबार मात्रै न्यु साउथ वेल्स र भिक्टोरियाको विभिन्न समुद्री तटहरूमा डुबेर ४ जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता छन्। शनिबार केही स्थानमा छालको उचाइ ३.५ मिटरसम्म पुगेको थियो।
सर्फ लाइफ सेभिङ अष्ट्रेलिया (SLSA) ले सप्ताहन्त सुरु हुनु अघि नै खतरनाक समुद्री अवस्थाबारे चेतावनी जारी गरेको थियो। संगठनका प्रमुख कार्यकारी एडम वेयरले सुरक्षाका लागि गस्ती गरिएका समुद्र किनारहरूमा जान आग्रह गरेका छन्।
उनले भने, “क्याम्पिङ, माछा मार्ने र तटीय गतिविधिमा रमाउनेहरूलाई हामीले सधैं ‘रोक्नुहोस्, हेर्नुहोस्, सुरक्षित रहनुहोस्’ भन्ने सरल सन्देश दिन्छौं।”
SLSA का अनुसार पछिल्लो १० वर्षमा गस्ती नभएका समुद्री किनारमा मात्रै ६३० जनाको ज्यान गइसकेको छ। एजेन्सी

