काठमाडौ,०७ वैशाख । बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन बङ्गलादेशको अन्तरिम सरकारले कडा कदम चालेको छ। अन्तरिम सरकारका प्रमुख प्रोफेसर मोहम्मद युनुसको पहलमा हसिनाविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अगाडि बढाइएको हो।
बङ्गलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (NCB)ले इन्टरपोललाई हसिनासहित १२ जनाविरुद्ध रेड नोटिस जारी गर्न औपचारिक निवेदन दिएको छ। ७७ वर्षीया हसिना सन् २०२४ को अगस्ट ५ देखि भारतमा शरण लिएर बस्दै आएकी छन्। सरकारी जागिरमा आरक्षणको विरोधमा देशव्यापी विद्यार्थी आन्दोलन चर्किएपछि उनी सत्ताबाट बाहिरिएकी थिइन् र भारततर्फ भागेकी थिइन्।
बङ्गलादेशको प्रतिष्ठित दैनिक ‘द डेली स्टार’का अनुसार अदालत, सरकारी वकिल तथा अनुसन्धान निकायहरूको सिफारिसका आधारमा रेड नोटिसको प्रक्रिया अघि बढाइएको हो। प्रहरी प्रधान कार्यालयका सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले रेड नोटिसको माग अनुसन्धान क्रममा देखिएका आपराधिक आरोपका कारण गरिएको पुष्टि गरेका छन्।
इन्टरपोलको रेड नोटिसले अन्तर्राष्ट्रिय स्तरमा फरार व्यक्तिहरूको खोजी, अस्थायी गिरफ्तारी र सुपुर्दगी प्रक्रिया अघि बढाउन मद्दत पुर्याउनेछ।
यसअघि, प्रोफेसर युनुस अन्तरिम सरकारको सल्लाहकार प्रमुख बनेको केही समयपछि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT)ले शेख हसिना, पूर्वमन्त्रीहरू, सैनिक र नागरिक अधिकारीहरूविरुद्ध मानवताविरुद्धको अपराध तथा नरसंहारको आरोपमा पक्राउ पुर्जी जारी गरिसकेको छ। सन् २०२४ को नोभेम्बरमा ICT को अभियोजक कार्यालयले इन्टरपोलमार्फत सहयोग लिएर फरारहरूलाई पक्राउ गर्न अनुरोध समेत गरेको थियो।

