नेपालगञ्ज, ९ वैशाख । भेरी अस्पताल, नेपालगञ्जमा मंगलबारदेखि मिर्गौला प्रत्यारोपण सेवा औपचारिक रूपमा सुरु गरिएको छ। यससँगै अब मिर्गौला रोगका बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, अस्पतालमा पहिलोपटक दुई बिरामीको मिर्गौला प्रत्यारोपण हुने तयारी गरिएको हो। एक जनाको प्रत्यारोपण प्रक्रिया सुरु भइसकेको छ भने दोस्रो बिरामीको प्रत्यारोपण सोहीपछि गरिने उनले जानकारी दिए।
मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय टोली भेरी अस्पताल पुगेको छ।
अस्पतालका यूरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया र डायलासिस विभागका विशेषज्ञहरूसँगको समन्वयमा सेवा सञ्चालन गरिएको हो। डा. सुवेदीका अनुसार अबदेखि प्रत्येक महिनामा कम्तीमा एक जनाको प्रत्यारोपण गरिने र अस्पतालको दक्ष जनशक्ति क्रमशः विस्तार गरिंदै लगिनेछ।
हाल दैनिक २०–२५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा लिइरहेका भेरी अस्पतालमा प्रत्यारोपण सेवाको सुरुआतले ठूलो राहत दिने अपेक्षा गरिएको छ। न्यूनतम शुल्कमा सेवा उपलब्ध गराइने भएकाले आर्थिक रूपमा कमजोर वर्गका बिरामीलाई विशेष राहत पुग्नेछ।
अस्पतालले हालसालै ६ शय्याको जलन वार्ड, २० शय्याको सर्जिकल वार्ड, १६ शय्याको पोष्ट अपरेटिभ वार्ड र नयाँ ओपीडी सेवा सञ्चालनमा ल्याएर पूर्वाधार विस्तारमा ध्यान दिएको छ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण सेवा सुरु हुनु अस्पतालको ठूलो उपलब्धि भएको बताए। उनले यो सेवाबाट मिर्गौला पीडित बिरामीलाई नयाँ आशा र जीवन दिने काम भएको उल्लेख गरे।




