इटहरी, ९ वैशाख । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुईजनाको खोजी कार्य आज पनि जारी छ।
सोमबार बिहान करिब ८:३० बजे खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा, इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य, नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
उनीहरू बराहक्षेत्र मन्दिरमा पूजाआजा गर्न आएका थिए।
घटनाबारे जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र तालिम प्राप्त गोताखोर टोली खोजीमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
‘हिजो पानीको बहाव तीव्र र सतह धमिलो भएकाले खोजीमा समस्या भयो,’ खतिवडाले भने, ‘तर आज बिहानैदेखि टोली पुनः सक्रिय रूपमा परिचालन गरिएको छ।’
सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार पाँच तालिम प्राप्त गोताखोर र ११ जना अनुभवी पौडीबाज सहितको टोली बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएको छ।
सप्तकोशी नदीको यो क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण भए पनि प्रत्येक वर्ष यस्ता दुर्घटना हुने गरेको छ। प्रहरी र स्थानीयवासीले जनतालाई सतर्क रहन अपिल गरेका छन्।

