जम्मु कश्मीरको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित दुई विदेशीको मृत्यु

spot_img

काठमाडौं,१० वैशाख । भारतको जम्मु कश्मीरस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पाहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित दुई विदेशीले ज्यान गुमाएका छन्। घटनामा २८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

मंगलबार दिउँसो करिब पौने ३ बजे, बैसारण उपत्यकामा पर्यटकहरूले भरिएको बेला अचानक अज्ञात आतङ्ककारी समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो। आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने रहेको बताइएको छ भने अर्का मृतक संयुक्त अरब इमिरेट्स (युएई) का नागरिक उध्वानी प्रदीप कुमार रहेका छन्।

सुरक्षा स्रोतअनुसार आक्रमणमा कम्तीमा ६ जना आतङ्ककारी संलग्न थिए। तीमध्ये दुईजना पाकिस्तानबाट तालिम लिएर फर्किएको भनिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, पर्यटकहरू डरले इधर–उधर भाग्दा ठूलो भगदड मच्चिएको थियो।

नेपाली सरकारको प्रतिक्रिया
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आक्रमणप्रति कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल सरकारले आफ्ना नागरिकको सम्बन्धमा भारत सरकारसँग नजिकबाट समन्वय गरिरहेको बताएका छन्। परराष्ट्र मन्त्री देउवाले “नेपाल सरकार भारतको दुःखको यस घडीमा पूर्ण ऐक्यबद्धताका साथ उभिएको छ” भनेर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छिन्।

भारतीय सरकार र सुरक्षा स्थिति
घटनापछि भारतका गृहमन्त्री अमित शाह, गृह सचिव गोविन्द मोहन, र गुप्तचर विभाग (IB) का प्रमुख घटनास्थलतर्फ गएका छन्। सुरक्षा बलहरूले आक्रमणकारीको खोजी र अनुसन्धान तीव्र पारेका छन्।

यो आक्रमणलाई हालसम्मको सबैभन्दा घातक मानिएको छ। सुरक्षाविद्हरूले लश्कर-ए-तैयबा वा जैश-ए-मोहम्मद समूहहरूसँग सम्भावित सम्बन्धको अनुसन्धान गरिरहेका छन्, तर अहिलेसम्म कुनै पनि समूहले आधिकारिक जिम्मेवारी लिएको छैन।

पर्यटकीय क्षेत्र प्रभावित
पाहलगाम जम्मु कश्मीरको मुख्य पर्यटकीय गन्तव्य हो। वर्षेनी हजारौँ स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गर्छन्। आतङ्कवादी आक्रमणले स्थानीय पर्यटन उद्योगमा ठूलो असर पार्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा पर्यटकहरू डरले भाग्दै गरेका दृश्यहरू र गोली चलिरहेको आवाज स्पष्ट सुनिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय