काठमाडाैं,११ वैशाख । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जमशोरो जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।
३५ जना सवार यात्रुवाहक भ्यान सडकबाट चिप्लिएर खोलामा खस्दा यो दुखद घटना घटेको हो। भ्यानमा सवार अधिकांश यात्रुहरू गहुँ खेतमा काम गरेर घर फर्किंदै थिए, त्यही क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार, मृतकमध्ये चार जना बालबालिका छन्, जबकि घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिन्ध क्षेत्रका ग्रामीण सडकहरूमा यात्रुवाहक भ्यानहरूमा क्षमताभन्दा बढी यात्रु कोच्ने प्रवृत्तिले बारम्बार यस्ता दुर्घटना दोहोरिइरहेका छन्।

