भारतले ब्लक गर्‍यो पाकिस्तान सरकारको एक्स अकाउन्ट

spot_img

काठमाडौं,११ वैशाख । जम्मु–कश्मीरको पहलगाममा भएको भीषण आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिएको छ। पछिल्लो प्रतिक्रिया स्वरूप भारत सरकारले पाकिस्तान सरकारको आधिकारिक एक्स (पूर्व ट्विटर) अकाउन्ट भारतभर ब्लक गरेको छ।

भारतीय मिडियाका अनुसार पाकिस्तान सरकारको एक्स अकाउन्ट अब भारतमा खोल्न नसकिने बनाइएको छ।

मंगलबार जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो। भारतले उक्त घटनापछि कडा कूटनीतिक कदम चालेको छ।

भारतले सिन्धु जल सम्झौता निलम्बन गर्ने, पाकिस्तानका वरिष्ठ कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने र भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई स्वदेश फर्कन निर्देशन दिने निर्णय गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा आक्रोश पोख्दै भनेका छन्, “आतंक फैलाउनेहरुलाई यस्तो सजायँ दिइनेछ, जसको उनीहरूले कल्पना पनि गरेका छैनन्।”

पाकिस्तान सरकारले भने पहलगाम हमलामा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उच्च सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन्।

हाल भारत–पाकिस्तानबीच कूटनीतिक सम्बन्ध अत्यन्तै तनावपूर्ण बन्दै गएको छ। भारतले पाकिस्तानलाई सीमा पार आतंकवादलाई आश्रय र समर्थन दिएको आरोप लगाउँदै थप कडा कदम चाल्ने तयारी गरेको देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय