काठमाडाैं, १६ वैशाख । अमेरिकाको कोलोराडो राज्यस्थित कोलोरोडो स्प्रिङ्समा रहेको एउटा अवैध भूमिगत नाइट क्लबमा छापा मारेर १ सय १४ जना गैरआप्रवासी पक्राउ परेका छन्।
ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डीईए) को रकी माउन्टेन डिभिजनले आइतबार बिहान स्थानीय समय अनुसार कारबाही गरेको हो। डेनभर सहरदेखि करिब ७० माइल दक्षिणमा रहेको सो नाइट क्लबमा लागुऔषध तस्करी, वेश्यावृत्ति र हिंसात्मक गतिविधि भइरहेको पाइएको छ।
डीईएका विशेष एजेन्ट इन्चार्ज जोनाथन पुलेनका अनुसार क्लबबाट ठूलो मात्रामा कोकिन, ‘पिंक कोकिन’ (टुसी) र अन्य लागुऔषधका प्याकेटहरू बरामद भएका छन्। साथै प्रहरीले दर्जनौं बन्दुक पनि जफत गरेको जानकारी दिएका छन्।
क्लबभित्र दुई सयभन्दा बढी व्यक्तिहरू थिए, जसमध्ये १ सय १४ जना बिना कागजातका आप्रवासी भएको डीईएले जनाएको छ। पक्राउ परेकामध्ये अमेरिकी सेनाका एक दर्जनभन्दा बढी सक्रिय सदस्यहरू पनि रहेको युएसए टुडेले उल्लेख गरेको छ। सेनाका कर्मचारीहरूमाथि छुट्टै अनुसन्धान हुने बताइएको छ।
यो छापा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) को फ्लोरिडामा सञ्चालन गरिएको ‘अपरेशन टाइडल वेभ’ सँगै देशभरि गैरकानुनी आप्रवासी नियन्त्रण अभियान तीव्र पारिएको समयमा भएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेयता गैरआप्रवासी निष्कासनमा जोड दिँदै संघीय अधिकारीहरूलाई व्यापक कारबाहीको निर्देशन दिएका छन्। यसै सन्दर्भमा अमेरिकाभर यस्ता छापा र पक्राउ बढाइएको छ।

