spot_img

सर्लाहीमा कृषि बाटो बनाउँदा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा

spot_img
spot_img

काठमाडौं,१५ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, ६ नम्बर वडाका अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर, वडा अध्यक्षसमेत ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

प्रशासकीय अधिकृत साह, वडाध्यक्ष साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौं मोहम्मद रिफक, सबइन्जिनियर शशिरञ्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू, कोषाध्यक्ष सुरतीय कुमारीलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी रकम अनियमितता गरेको निष्कर्षसहित अख्तियारले उनीहरूलाई जनही सात लाख ७९ हजार २०५ रुपैया बराबर बिगो तथा कैद सजाय माग गरेको छ ।

कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको शर्त सम्झौताविपरीत फिल्डमा भएको वास्तविक कार्य भन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाइएको, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाइ बनाएर सात लाख ७९ हजार २०५ रुपैयाँ रकम भुक्तानी दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय