spot_img

चलचित्र उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ : राष्ट्रपति पौडेल

spot_img
spot_img

काठमाडौं,०५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।

शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाली चलचित्रको सम्भावनालाई आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

उनले गाउँघर, पाखापखेरा र दूरदराजका कथा–व्यथालाई सूक्ष्म र सशक्त रूपमा पर्दामा उतार्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताए। यसका लागि चलचित्रकर्मीलाई प्रविधिसँग अद्यावधिक रहँदै अध्ययन, अनुसन्धान र सृजनशीलतामा जोड दिन उनले सुझाव दिए।

राष्ट्रपति पौडेलले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक चेतना, जागरण, रुपान्तरण र राष्ट्रप्रेम अभिवृद्धि गर्ने सशक्त माध्यम भएको उल्लेख गरे। साथै, यसले नेपालको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य तथा सामाजिक जीवनलाई चलचित्रमार्फत विश्वसामु प्रस्तुत गर्न सकिने भन्दै उनले यसले राष्ट्रिय पहिचान निर्माणमा समेत योगदान दिने स्पष्ट पारे।

परिवर्तित समयअनुसार नीति, कानुन, सुविधा र सहुलियतमार्फत संस्थागत सुधार गर्दै चलचित्र उद्योगलाई नयाँ उचाइँमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।

डिजिटल प्रविधिको विकासले चलचित्र निर्माण र वितरणलाई सहज बनाएको उल्लेख गर्दै उनले प्रविधिको प्रयोग गर्दा मौलिकता, सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार संरक्षणमा सचेत रहनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले चलचित्रमा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा प्रस्तुत हुनुपर्ने अपेक्षा व्यक्त गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय