वीरगन्ज,०५ असार । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेन रोड) क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा संरचनाहरूमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ।
यसअघि गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमाभित्र पर्ने (दायाँ–बायाँ २५/२५ मिटर) करिब १ हजार २०० घर तथा भवनमा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसपछि सम्बन्धित घरधनीहरूलाई २५ दिनभित्र आफैं संरचना खाली गर्न आग्रह गरिएको थियो।
तर तोकिएको समयावधिभित्र अधिकांश घरधनीहरूले संरचना नहटाएपछि सडक विभागले असार ७ गतेदेखि बाँकी संरचनाहरू हटाउने निर्णय गरेको हो।
यस कार्यका लागि सडक विभाग अन्तर्गतको सडक डिभिजन हेटौंडाले वीरगन्ज महानगरपालिकालाई पत्र लेख्दै आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ। पत्रमा मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डको केन्द्ररेखाबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्य गरिने उल्लेख गरिएको छ।
यसअघि पनि सडक डिभिजनले सूचना जारी गर्दै ५ दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफैं संरचना हटाउन आग्रह गरेको थियो। अन्यथा सडक ऐन, २०३१ अनुसार कारबाहीस्वरूप डोजर प्रयोग गरी हटाइने चेतावनी दिइएको थियो।
केही घरधनीहरूले भने आफैं संरचना हटाइसकेका छन्। तर घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश संरचनाहरू अझै हटाइएका छैनन्।
सडक विस्तार तथा सीमा संरक्षण अभियानअन्तर्गत उक्त क्षेत्रमा बाँकी संरचना हटाउने कार्य पुनः तीव्र पारिने सडक विभागले जनाएको छ।




