भारतले ३६ घण्टाभित्र हमला गर्न सक्ने दाबी : पाकिस्तानको सुरक्षा सतर्कता

spot_img

काठमाडौं, १७ वैशाख । पाकिस्तानले भारत २४ देखि ३६ घण्टाभित्र आफ्ना भूमिमा सैन्य कारबाही गर्नसक्ने विश्वसनीय सूचना प्राप्त भएको दाबी गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो गम्भीर दाबी गरेका हुन्।

मन्त्री तरारले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको दोष पाकिस्तानमाथि थोपर्ने तयारीस्वरूप भारतले हमला गर्नसक्ने उल्लेख गर्दै भने, “आधारहीन र मनगढन्ते आरोपको बहानामा भारत सैन्य कारबाहीको योजना बनाइरहेको छ, र हामीसँग यसबारे विश्वसनीय गुप्तचर सूचना छ।”

उनले कारबाही भए पाकिस्तान चुप लागेर नबस्ने चेतावनी पनि दिए। “यदि भारतले हमला गर्छ भने त्यसको स्पष्ट जवाफ दिनेछ, र त्यसको सम्पूर्ण जिम्मेवारी भारतको हुनेछ,” तरारले भने।

भारतको जम्मू–कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आतंकवादी आक्रमणमा नेपालका सुदीप न्यौपानेसहित २८ जना तीर्थयात्रीको मृत्यु भएको थियो। सो हमलाको जिम्मेवारी ‘द रेसिस्टेन्ट फ्रन्ट’ (TRF) नामक आतंकवादी समूहले लिएको छ। भारतले यस समूहलाई पाकिस्तानको गुप्तचर संस्था आईएसआई र सेनाको प्रत्यक्ष समर्थन रहेको आरोप लगाउँदै आएको छ।

पाकिस्तानले भने उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै भारतको तयारीलाई उक्साहटको रूपमा व्याख्या गरेको छ।क्षेत्रीय तनाव चुलिँदै गएको बेला यस्तो खुलासा भएपछि दक्षिण एशियामा सुरक्षा सतर्कता बढेको छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय