१ देखि २३ मेसम्म पाकिस्तानी विमानका लागि हवाई क्षेत्र बन्द

spot_img

काठमाडाैं,१८ वैशाख । जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको चिसो सम्बन्ध थप चर्किएको छ। त्यसैबीच, भारतले कडा जवाफी कदमस्वरूप पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र (एयरस्पेस) बन्द गरेको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतको हवाई क्षेत्र १ मेदेखि २३ मेसम्म पाकिस्तानी विमानका लागि पूर्ण रूपमा बन्द गरिनेछ। यसबारे भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक ‘नोटम’ (नोटिस टु एयरमेन) जारी गर्दै जानकारी दिएको हो।

यस निर्णयअनुसार पाकिस्तानमा दर्ता गरिएका, पाकिस्तानी एयरलाइन्स तथा अपरेटरमार्फत सञ्चालन गरिने, स्वामित्वमा रहेका वा चार्टर्ड (भाडामा लिइएका) विमानहरू अब भारतीय हवाई क्षेत्र प्रयोग गर्न पाउने छैनन्। प्रतिबन्ध सैन्य विमानमा समेत लागू हुने भारतीय उच्च सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

भारत र पाकिस्तानबीच प्रत्यक्ष उडान सेवा नभए पनि पाकिस्तानी एयरलाइन्सले सिंगापुर, मलेसिया लगायत पूर्वी एसियाली देशहरूमा उडान भर्न भारतको हवाई क्षेत्र प्रयोग गर्दै आएका थिए। अब त्यस मार्गमा पनि प्रभाव पर्ने देखिएको छ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर नीति अख्तियार गरेको छ। २३ अप्रिलमा भारतले सिन्धु जल सम्झौता स्थगन, अटारी नाकाबाट क्रस-बोर्डर गतिविधि बन्द गर्नुका साथै कूटनीतिक सम्बन्धहरूमा पनि कटौती गरेको थियो। त्यसको प्रतिकारस्वरूप पाकिस्तानले पनि भारतसँगको सबै प्रकारका व्यापारिक सम्बन्ध तेस्रो देशमार्फत् समेत बन्द गरेको छ र भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको छ।

पछिल्लो यो निर्णयले दुई देशबीचको चिसोपन अझ गहिरिएको देखिन्छ। क्षेत्रीय सुरक्षा र व्यापारमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय