पर्साका ग्रामीण भेगमा भूमिगत पानीको सतह घट्दै

spot_img

पर्सा,१९ बैशाख । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । यस कारण धेरै स्थानका पानीका मुहानहरू सुक्न थालेका छन् भने अटोमेटिक पानी आउने स्वचालित आर्टिजन धारा समेत सुकेका छन् ।

विगत केही वर्ष पहिले ग्रामीण बासिन्दाहरूले खानेपानीका लागि १५० देखि २०० फिट गहिराईको पाईप जडान गरी अटोमेटिक पानी आउने धारा जडान गरेका थिए । तर ती धाराहरू पनि अहिले सुकेका छन । सर्वसाधारणहरूले वैकल्पिक रूपमा ती धारामा चापाकल जडान गरेर पानीको जोहो गर्न थालेका छन् ।

जीराभवानी गाउँपालिका–१ शान्तिनगरका कृषक चक्रबहादुर श्रेष्ठका अनुसार गत असोजदेखि अहिलेसम्म पर्याप्त वर्षा नहुँदा खेतमा पानी पुर्‍याउन समस्या परेको छ । चैते धान, मकै, सुर्ती र तरकारीबाली जोगाउन हरेक तीन दिनमा बोरिङमार्फत सिंचाइ गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको गुनासो छ ।

सखुवाप्रसौनी गाउँपालिका–२ का किसान अजित दासले अधिकांश स्वचालित धारा सुकेका र कतिपय कुलोहरूमा पानी नरहेको जानकारी दिए । भूमिगत सिंचाइमा अत्यधिक निर्भरता तथा वर्षाको अभावले पानीको सतह झनै घटेको दासको भनाई छ ।

ठोरी गापा–५ का अध्यक्ष अष्ठबहादुर लोप्चनका अनुसार अझै पनि केही बोरिङ सुक्न बाँकी छ । तर ती बोरिङमा दमकल र वाटरपम्प लगाएर पनि पानी तान्न सकिने अवस्था छैन । अब १२–१५ फिट गहिरो इनार बनाएर मात्र दमकल वा वाटरपम्प जडान गरी पानी तान्ने गरिएको वडाध्यक्ष लोप्चनले बताए ।

उनका अनुसार ठोरी गाउँपालिकाको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा चैते धानबाली लगाइएको छ, तर सिंचाइको समस्या विकराल बन्दै गएको छ।

पानीको संकटले कृषि उत्पादनमा गम्भीर असर पर्न सक्ने देखिएकाले स्थानीय सरकार, जलस्रोत तथा वातावरण सम्बन्धी निकायहरूको तत्काल ध्यान जानु आवश्यक देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय