आईपीएलमा गुजरातको शानदार जित, हैदराबादलाई ३८ रनले हरायो : आज आरसीबी र चेन्नई भिड्दै

spot_img

काठमाडौं,२० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि ३८ रनको सशक्त जित हासिल गरेको छ।

अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो। कप्तान शुभमन गिलले ७६ रनको कप्तानी पारी खेले भने जोश बट्लरले ६४ र साई सुदर्शनले ४८ रन जोडे। हैदराबादका जयदेव उनादकटले तीन विकेट लिए।

२२५ रनको कठिन लक्ष्य लिएर मैदानमा उत्रेको हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनमै सीमित भयो। अभिषेक शर्माले ७४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। गुजरातका तर्फबाट मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले दुई–दुई विकेट लिए भने इशान शर्मा र गेराल्ड कोट्जेले एक–एक विकेट लिए।

यस जितसँगै गुजरातले १० खेलबाट १४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। हैदराबाद भने १० खेलमा ६ अंकसहित नवौं स्थानमा सीमित छ।

आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्स आमनेसामने हुँदैछन्। खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा सुरु हुनेछ। आरसीबी १० खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ, जबकि चेन्नई १० खेलबाट केवल ४ अंकसहित तालिकाको पुछारमा छ र प्लेअफ होडबाट पहिल्यै बाहिरिसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय