काठमाडौं,२२ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीको खेल तालिका सार्वजनिक गरेको छ। पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने भएको छ।
छनोट प्रतियोगिता मे ९ देखि २० सम्म थाइल्याण्डमा हुँदैछ, जहाँ ९ देश सहभागी हुनेछन्। नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग परेको छ। समूह चरण डबल राउण्ड रोबिन स्वरूपमा खेलिनेछ र समूहको शीर्ष स्थानमा रहने टोली मात्रै सुपर राउण्डमा प्रवेश पाउनेछ।
प्रतियोगितामा नेपाल, हङकङ, बहराइनसहित थाइल्याण्ड, भुटान, कुवेत, मलेसिया, कतार र यूएई गरी कुल ९ टोलीले सहभागिता जनाउँदै छन्। तीनवटा समूहको शीर्ष टोलीले सुपर राउण्डमा स्थान बनाउनेछ, जहाँ उत्कृष्ट दुई टोलीले आगामी ग्लोबल क्वालिफायरमा स्थान पाउनेछन्।
नेपाल क्रिकेट संघका अनुसार नेपाली महिला टोली हाल भारतमा बन्द प्रशिक्षणमा व्यस्त छ र त्यहीँबाट सीधा थाइल्याण्ड प्रस्थान गर्नेछ।

