काठमाडौं,२३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीचको खेल वर्षाका कारण अधुरै रह्यो। खेल बिना नतिजा टुंगिएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन्।
वर्षाले खेल रोकिनु हैदराबादका लागि निकै महँगो सावित भयो। प्लेअफमा पुग्न जित अपरिहार्य रहेको यो खेलमा हैदराबादले जवाफी ब्याटिङको सुरुआत नै गर्न पाएन। दिल्लीले दिएको १३४ रनको लक्ष्य पछ्याउन पनि हैदराबादलाई एक बल खेल्न नदिएर वर्षाले हैदराबादको आशामा पानी फेरिदियो।
यो परिणामसँगै हैदराबादको प्लेअफ यात्रा औपचारिक रूपमा समाप्त भएको छ। अहिले हैदराबाद ७ अंकसहित आठौं स्थानमा रहेको छ। दिल्ली भने १३ अंक जोड्दै पाँचौं स्थानमा पुगेको छ, तर प्लेअफ होडमा त्यो अंकले उसलाई अझै दबाबमा राख्नेछ।
खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादको निर्णय सही सावित भयो। दिल्लीले सुरुआती झट्काका साथ खराब सुरुआत गर्यो र २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो। करुण नायर पहिलो बलमै शून्यमा आउट भएपछि दिल्लीको शीर्ष क्रम धराशायी भयो। फाफ डु प्लेसिस (३), पोरेल (८), केएल राहुल (१०), र कप्तान अक्षर पटेल (६) समेत सस्तोमा आउट भए।
तर अन्तिमतिर ट्रिस्टन स्टब्स र आशुतोष शर्माले सम्हाल्दै स्कोर केही उकासे। दुवैले ४१–४१ रन बनाए, जसमा स्टब्स नटआउट रहे। शर्माले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
हैदराबादका कप्तान प्याट कमिन्सले सानदार प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १९ रन दिँदै ३ महत्वपूर्ण विकेट लिए, ती सबै दिल्लीका शीर्षक्रमका खेलाडी थिए।
तर वर्षाले सारा खेलको लय बिगारिदियो। अब हैदराबादसहित राजस्थान र चेन्नईको पनि प्लेअफ सम्भावना सकिएको छ।

