काठमाडौं,२५ वैशाख । भारतमा सन् २०२३ मा १८ वर्ष उमेर नपुगेका करिब ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार भएका छन् भन्ने तथ्यांक सार्वजनिक भएको छ। प्रतिष्ठित द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषणले यस्तो तथ्य उजागर गरेको हो।
सन् १९९० देखि २०२३ सम्म २०० भन्दा बढी देशको तथ्यांक समेटिएको उक्त अध्ययनले बालबालिकाविरुद्ध यौन हिंसा विश्वव्यापी रूपमा चिन्ताजनक रूपमा बढेको देखाएको छ। दक्षिण एसियाका सन्दर्भमा भारतमा बालिकामाथिको यौन हिंसाको दर उच्च छ भने बंगलादेशमा तुलनात्मक रूपमा न्यून देखिएको छ – बंगलादेशमा यो दर ९.३ प्रतिशत रहेको छ।
विश्वस्तरमा हेर्दा पाँचमध्ये एक किशोरी र सातमध्ये एक किशोर १८ वर्ष नपुग्दै यौन हिंसाको सिकार हुने अध्ययनले देखाएको छ। अमेरिका स्थित युनिभर्सिटी अफ वाशिंगटनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन का अनुसन्धानकर्ताहरूका अनुसार उप–सहारा अफ्रिकामा पनि अवस्था गम्भीर छ, जहाँ जिम्बाब्वेमा ८ प्रतिशतदेखि कोट डिआइभोरमा २८ प्रतिशतसम्म यौन हिंसाको दर छ।
विशेषज्ञहरूका अनुसार यौन दुर्व्यवहारले पीडितको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने गर्छ र यो जनस्वास्थ्य तथा मानव अधिकारसँग जोडिएको गम्भीर समस्या हो। अध्ययनले यो पनि औंल्याएको छ कि विश्वभर करिब ७० प्रतिशत किशोर–किशोरीहरूले १८ वर्ष नपुग्दै यौन हिंसाको पहिलो अनुभव गरिसकेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार २०२३ मा बालबालिकाविरुद्ध यौन हिंसाको वैश्विक औसत दर महिलाका लागि १८.९ प्रतिशत र पुरुषका लागि १४.८ प्रतिशत रहेको छ।

