काठमाडौँ,२५ वैशाख । लोकप्रिय भारतीय गायन रियालिटी शो इन्डियन आइडल १२ का विजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार आइरहेको छ। सोमबार बिहान उत्तर प्रदेशमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हाल आईसीयूबाट निगरानीमा राखेर उपचार गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पवनदीप अब खतरामुक्त छन्। उनको गाडी मुरादाबाद नजिकै एक कन्टेनर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो। गाडीको नियन्त्रण गुमेपछि सडक किनारको ट्रकमा ठोक्किँदा सवार तीनैजना घाइते भएका थिए।
गम्भीर चोट लागेपछि उनलाई तत्काल प्राथमिक उपचार दिइएको र त्यसपछि थप उपचारका लागि दिल्लीस्थित अस्पतालमा सारिएको हो। हाल उनी चेतमा छन् र अनुहारमा केही सामान्य चोटपटक देखिएको छ।
उत्तराखण्ड निवासी पवनदीपले सन् २०२१ मा इन्डियन आइडल १२ को उपाधि जितेका थिए र त्यसयता उनले दर्जनौँ गीत गाइसकेका छन्। उनको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत राहतको अनुभव साझा गरिरहेका छन्।

