काठमाडौं,२६ वैशाख । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भोलिबाट टी–२० विश्वकप एशिया छनोटमा प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नेपालले आज बिहान ८:४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
यसपटक नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ उसका प्रतिस्पर्धीहरू हुन् — हङकङ र बहराइन। नेपालले दोस्रो खेल पर्सि (बैशाख २८) बहराइनसँग खेल्नेछ भने तेस्रो र चौथो खेल क्रमश: वैशाख ३० र जेठ १ मा फेरि हङकङ र बहराइनसँग हुने छन्।
एशिया छनोट प्रतियोगितामा जम्मा ९ टोली छन्। समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत र भुटान छन् भने समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन्।
प्रत्येक समूहका विजेता टिमहरू ‘सुपर थ्री’ चरणमा पुग्नेछन्, जहाँ शीर्ष दुई टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।
थाइल्यान्ड प्रस्थान गर्नु अघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो। यद्यपि, नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न भने सकेको छैन। यसपटक ऐतिहासिक उपलब्धिको लक्ष्यसहित टोली मैदान उत्रन लागेको हो।

