सर्लाही,२६ बैशाख । सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार साँझ दुई पक्षबीच भएको पुरानो रिसिइबीका कारण झडप हुँदा १३ जना घाइते भएका छन्। सुवोध पासवान र भोला पासवान पक्षबीचको विवादले उग्र रुप लिँदा झडपमा दुवैतर्फका मानिस घाइते भएका हुन्।


प्रहरीका अनुसार सुवोध पासवान पक्षबाट ७० वर्षीय सुवोधसहित १५ वर्षीय शिवसागर, ४७ वर्षीय दिनेश, ३० वर्षीय हरेन्द्र, ७५ वर्षीय लखचन र १८ वर्षीय अंगद पासवान घाइते भएका छन्। उनीहरूको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।
त्यस्तै, भोला पासवान पक्षबाट ७० वर्षीय सन्तलाल हजारी, उनका छोरा रुपेश, भिनाजु भारतीय नागरिक वीरेन्द्र पासवान, तथा महिलाहरू निक पासवान, कामनी देवी र पूजा देवीसहित सात जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जनकपुर लगिएको छ।

झडपका क्रममा धेरैजनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार, झडपको कारण र जिम्मेवार पक्षको पहिचानका लागि अनुसन्धान भइरहेको छ। हाल घटनास्थलमा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ र अवस्था नियन्त्रणमा रहेको जनाइएको छ।