काठमाडाैं,०३ जेठ । अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच ऊर्जा, अन्तरिक्ष प्रविधि र खनिज क्षेत्रसँग सम्बन्धित २०० अर्ब डलरभन्दा बढीको बहुआयामिक सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यूएई भ्रमणका क्रममा यी सम्झौताहरू घोषणा गरिएको हो।
ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणअनुसार, जीई एरोस्पेसले इतिहाद एयरवेजसँग १४.५ अर्ब डलर बराबरको सम्झौता गर्दै बोइङ विमानका लागि जीई इन्जिन आपूर्ति गर्ने भएको छ।
त्यस्तै, इमिरेट्स ग्लोबल एल्युमिनियमले अमेरिकाको ओक्लाहोमा राज्यमा ४ अर्ब डलर लगानीमा प्राथमिक एल्युमिनियम गाल्ने उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।
ऊर्जा क्षेत्रमा, अमेरिकी कम्पनीहरू एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र ईओजी रिसोर्सेजले आबुधाबीको नेसनल आयल कम्पनी (ADNOC) सँग मिलेर करिब ६० अर्ब डलरको तेल तथा प्राकृतिक ग्यास उत्पादन परियोजनामा सहकार्य गरिरहेका छन्।
साथै, चर्चित ‘ग्यालियम प्रोजेक्ट’मा आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र यूएईको काउन्सिल ‘तवाजुन’ सँग साझेदारी गर्ने भएको छ।
राष्ट्रपति ट्रम्पले साउदी अरब र कतारको भ्रमण सकेर हालै यूएई पुगेका थिए। आबुधाबीमा आयोजित उच्चस्तरीय व्यापारिक बैठकमा सहभागिता जनाएपछि उनको पश्चिम एशिया भ्रमण समापन भएको हो।

