बंगलादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध ‘अवैध सम्पत्ति’ अनुसन्धान सुरु

spot_img

काठमाडाैं,०५ जेठ । बंगलादेशको भ्रष्टाचारविरुद्धको सर्वोच्च निकाय, एण्टी करप्सन कमिसन (एसीसी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अवैध सम्पत्तिसम्बन्धी अनुसन्धान सुरु गरेको छ। आयोगका अनुसार अनुसन्धानको नेतृत्व एसीसीका उपनिर्देशक मसुदुर रहमानले गर्नेछन्। आइतबार उनको नेतृत्वमा एक विशेष टोली गठन गरिएको हो।

अनुसन्धान टोलीले शेख हसिनाको चल-अचल सम्पत्तिको विस्तृत छानबिन गर्नेछ। यस अन्तर्गत, सम्पत्तिको विवरण माग गर्दै सार्वजनिक सूचना जारी गरिनेछ भने उनको आय विवरण तथा कर अभिलेखसँग वास्तविक सम्पत्तिको तुलना गरिने एसीसी स्रोतले जनाएको छ।

यसअघि आयोगले जालसाजी, मनी लान्ड्रिङ र परियोजना कोष दुरुपयोगसम्बन्धी अभियोगमा पनि अनुसन्धान सुरु गरिसकेको छ। यस्तै, पूर्वाचल प्लट ठगी प्रकरणमा आरोपपत्र दायर भएपछि अदालतले शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

एसीसी स्रोतका अनुसार आयोगले अब विमानस्थल विकाससँग सम्बन्धित परियोजनामा देखिएको कथित घोटालाबारे समेत शेख हसिनाविरुद्ध नयाँ मुद्दा दायर गर्ने तयारी गरिरहेको छ।

बंगलादेशको राजनीतिक वृत्तमा यस अनुसन्धानलाई गम्भीर संकेतका रूपमा लिइएको छ, जसले आगामी दिनमा देशको राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय