काठमाडौँ,०५ जेठ । एसियाली मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेरि बढ्न थालेको छ। हालैका तथ्यांकअनुसार, हङकङ, सिंगापुर, चीन, थाइल्याण्ड लगायतका देशहरूमा संक्रमण दर उल्लेखनीय रूपमा उकालो लागेको छ।
हङकङमा मात्रै एक साताभित्र संक्रमण दर ३० प्रतिशतले वृद्धि भएको छ। पछिल्लो सातामा १,०४२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ भने अघिल्लो सातामा यो संख्या ९७२ थियो। मार्च महिनादेखि संक्रमण दर लगातार बढ्दो क्रममा छ।
त्यस्तै, सिंगापुरमा पनि संक्रमणमा उल्लेख्य वृद्धि देखिएको छ। अप्रिल २७ को अघिल्लो साता ११ हजार १०० जना संक्रमित रहेका थिए भने पछिल्लो साता यो संख्या १४ हजार २०० पुगेको छ। यसले संक्रमण एक सातामै करिब ३० प्रतिशतले बढेको देखाउँछ।
चीन र थाइल्याण्डमा पनि संक्रमण दर बिस्तारै बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उता अष्ट्रेलियामा समेत नयाँ संक्रमणका केसहरू देखिन थालेका छन्, जसले पुनः सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार महामारी सकिएको ठानिए पनि कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमण चक्र फेरि सक्रिय बनाएको हुनसक्ने आँकलन गरिएको छ। उनीहरूले उच्च जोखिममा रहेका समूहलाई विशेष सतर्कता अपनाउन र खोपको अद्यावधिक डोज लिन आग्रह गरेका छन्।

