काठमाडौं,०६ जेठ । अभिषेक शर्माको विस्फोटक ब्याटिङको मद्दतले सनराइजर्स हैदराबादले सोमबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै उनीहरूको प्लेअफ यात्रा टुंग्याइदिएको छ।
हैदराबादका लागि अब प्लेअफको मौका बाँकी थिएन, तर लखनउका लागि यो खेल “कर या मर” थियो। तर, हैदराबादको आक्रमक प्रदर्शनले लखनउलाई नकआउट चरणको दौडबाट बाहिर पठाएको छ।
२०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले मात्र २० बलमा ५९ रनको आतिशी पारी खेले। उनले ४ चौका र ६ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि इशान किशनसँग ८२ रनको साझेदारी गर्दै लक्ष्य छोट्याउन मुख्य भूमिका खेले।
इशान किशनले पनि ३५ रन (२८ बलमा) बनाए भने हेनरिक क्लासेनले २८ बलमा ४७ रनको उपयोगी योगदान दिए। कामिन्दु मेन्डिस ३२ रन बनाएर रिटायर्ड हर्ट भए।
पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। ओपनर मिचेल मार्स (६५ रन) र एडेन मारक्रम (६१ रन) को आक्रामक सुरुवातले राम्रो आधार तयार गर्यो। यी दुईले ११ ओभरभित्र ११५ रनको साझेदारी गरे।
निकोलस पुरनले पनि २६ बलमा ४५ रन बनाए। तर अन्तिममा बलरहरूले लय गुमाउँदै विपक्षी ब्याट्सम्यानलाई नियन्त्रण गर्न सकेनन्।
लखनउका लागि दिग्वेश राठीले २ विकेट लिए पनि हैदराबादको ब्याटिङ आक्रोश रोक्न सकेनन्।

