काठमाडौं,०६ जेठ । नेपाली खेलप्रेमीका लागि खुशीको खबर: नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक टी–२० विश्वकप छनोटमा स्थान बनाउँदै ऐतिहासिक सफलता हात पारेको छ। सोमबार थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ अन्तर्गत नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनोटमा स्थान पक्का गरेको हो।
कप्तान इन्दु बर्माले पुनः जिम्मेवार इनिङ्स खेलेकी हुन् भने बलिङतर्फ मनीषा उपाध्यायले घातक प्रदर्शन गर्दै ४ विकेट लिएर यूएईलाई ११४ रनमै रोक्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्। खेलपछि कप्तान इन्दुले “प्लेयर अफ द म्याच” को ट्रफी मनीषालाई समर्पण गर्दै आफ्नो नेतृत्व क्षमता मात्रै होइन, खेलाडीप्रतिको सम्मान पनि देखाइन्।
नेपालले शुरुवातमा केही विकेट गुमाए पनि सम्झना खड्का, पूजामहतो, इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको संयमित ब्याटिङले लक्ष्य ३ बल बाँकी रहँदै सजिलै पूरा गर्यो। इन्दु ३० रनमा अविजित रहिन् भने रुबिनाले २३ रन बनाइन्।
पहिलो चरणमा वर्षाका कारण नेपाल बाहिरिने स्थितिमा पुगेको थियो। तर बहराइनविरुद्धको खेल वर्षाले रद्द भएपछि नेपाल ‘सुपर थ्री’ मा प्रवेश पायो। यो भाग्यले दिएको मौका नेपालले मेहनतमार्फत सुनौलो अवसरमा बदल्न सक्यो।
अब नेपालले थाइल्यान्डसँगको अन्तिम खेल जिते एसिया च्याम्पियन बन्नेछ। यद्यपि, यस जितसँगै नेपाल र थाइल्यान्डले विश्वकप छनोटमा एसियाबाट स्थान सुरक्षित गरिसकेका छन्। आगामी छनोटमा १० टोली सहभागी हुनेछन्, जसबाट शीर्ष ४ टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकप खेल्नेछ।
सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको नेपाली महिला टोलीको लागि यो सफलताको सन्देश ऐतिहासिक मात्र होइन, प्रेरणादायी पनि हो। १८ वर्षयता संघर्ष र सीमित स्रोत–साधनमा खेलेको टोलीले बल्ल पहिलो पटक विश्वकपको ढोका सम्मको यात्रा तय गरेको छ।

