काठमाडौं,०७ जेठ । भारत र पाकिस्तानबीच केही दिनअघि भएको चारदिने सीमित युद्ध सकिएको घोषणा गरिए पनि त्यसको प्रभाव र चर्चा अझै थामिएको छैन। यद्यपि दुबै देशले आफैंलाई विजेता घोषित गरेका छन्, तर यो भिडन्तमा अप्रत्याशित रूपमा चीनको रक्षा उद्योगले अन्तर्राष्ट्रिय ध्यान तानेको विश्लेषकहरूले बताइरहेका छन्।
भारतले मे ७ मा पाकिस्तानमा रहेका ‘आतंकवादी संरचना’हरूलाई निशाना बनाएपछि युद्धको सुरुवात भएको थियो। भारतको कारबाही ‘अपरेसन सिन्दूर’ अन्तर्गत गरिएको थियो। यसअघि, अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा धेरैजसो पर्यटक थिए। भारतले उक्त आक्रमणको दोष पाकिस्तानप्रति तेस्र्याएको थियो, यद्यपि पाकिस्तानले संलग्नता अस्वीकार गर्यो।
चार दिनसम्म चलेको यो सैन्य द्वन्द्वमा दुवै पक्षले लडाकु विमान, ड्रोन र क्षेप्यास्त्रको प्रयोग गरेका थिए। भारतले फ्रान्सको राफाल र रुसको सुखोईजस्ता विमान प्रयोग गर्यो भने पाकिस्तानले चीनसँग मिलेर बनाएका जे-१० र जेएफ-१७ लडाकु विमान परिचालन गरेको दाबी गर्यो। दुबै देशले सीमा पार नगरी टाढाबाट आक्रमण गरेको बताएका छन्।
पाकिस्तानले भारतका कम्तीमा ६ वटा विमान खसालेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भएको छैन। भारतले भने लस्कर-ए-तोयबा र जैश-ए-मोहम्मदका ठूला क्याम्पहरूमा आक्रमण गरी १०० भन्दा बढी आतंककारी मारिएको जनाएको छ।
यस भिडन्तमा चीनमा निर्मित जे-१० लडाकु विमानले अपेक्षाकृत प्रभावकारी प्रदर्शन गरेको भन्दै चीनको रक्षा उद्योगले अन्तर्राष्ट्रिय चासो बटुलेको छ। जे-१० विमान निर्माण गर्ने चेंग्दु एयरक्राफ्ट कम्पनीको सेयर मूल्य ४०% सम्म बढेको छ। चीनका पूर्व सैनिक कर्णेल झोउले यो भिडन्तलाई चिनियाँ हतियार प्रणालीको “प्रभावकारिता परीक्षण” भएको बताएका छन्।
यद्यपि, लन्डनस्थित किङ्स कलेजका प्राध्यापक वाल्टर लाडविग जस्तो विशेषज्ञले भने यो निष्कर्षमा पुग्न हतार नगर्न सुझाव दिएका छन्। “चीनको हतियार प्रणाली प्रभावकारी थियो भन्ने ठोस प्रमाण हालसम्म देखिएको छैन,” उनले बताएका छन्।
चीन र पाकिस्तानबीचको रणनीतिक सम्बन्ध यस युद्धमा थप उजागर भएको छ। विश्लेषक इम्तियाज गुलका अनुसार, भारतले चीन–पाकिस्तानको सैन्य समन्वयको यो स्तर अनुमान पनि गर्न सकेको थिएन।
भारतले पनि पाकिस्तानका ११ वटा एयरबेसमा मिसाइल आक्रमण गरेको बताइएको छ, जसमा इस्लामाबादनजिकको नुर खान एयरबेस समेत पर्छ। भारतले पहिले पाकिस्तानको हवाई रक्षा प्रणालीलाई निशाना बनाएर ग्राउन्ड टार्गेटहरूमा आक्रमण गरेको संकेत प्राध्यापक लाडविगले दिएका छन्।

