बीरगन्ज,१३ जेठ । मधेश क्रिकेट लिग सिजन–१ को उपाधि भिडन्तमा सप्तरी र बारा आमनेसामने हुने भएका छन्। मंगलबार सम्पन्न दुई सेमिफाइनल खेलपछि यी दुई टोलीले फाइनल यात्रा तय गरेका हुन्।
वीरगञ्जमा भएको पहिलो सेमिफाइनलमा सप्तरीले धनुषालाई रोमाञ्चक खेलमा ३ विकेटले हराउँदै फाइनलमा प्रवेश गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको धनुषाले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९८ रन बनाएको थियो। धनुषाका अखिलेश ठाकुरले ९ बलमा २३ रन र हिमांशु दत्तले २१ रन बनाए।
सप्तरीका नितेश यादवले धारिलो बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिए भने पप्पु यादवले २ विकेट निकाले।
९९ रनको लक्ष्य पछ्याएको सप्तरीले केही दबाबमा परे पनि राहुल विकको धैर्यपूर्ण ब्याटिङले टोलीलाई जित दिलायो। उनले ३१ बलमा अविजित ४८ रन बनाउँदै ‘म्यान अफ द म्याच’को उपाधि हात पारे। अमित यादवले पनि ११ रनको योगदान दिए।
धनुषाका अविजित यादव र रामरुप यादवले समान २–२ विकेट लिए पनि जित रोक्न सकेनन्।
त्यस्तै, कलैयामा सम्पन्न दोस्रो सेमिफाइनलमा बाराले रौतहटलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनायो।

