वीरगन्ज,१५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्म नेपालमा सडकको कुल लम्बाइ ३६,१३२ किलोमिटर पुगेको छ ।
‘विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्रे, ८ हजार २०४ किलोमिटर खण्डास्मित र ८ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,’ सर्वेक्षणमा उल्लेख छ, ‘२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्रे, ८ हजार ०२४ किलोमिटर खण्डास्मित र ८ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको कुल लम्बाइ ३५ हजार ४९० किलोमिटर थियो ।’
सर्वेक्षणअनुसार मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १ हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म १ हजार ४५२ किलोमिटर कालोपत्रे भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर कालोपत्रे भई १ हजार ४६३ किलोमिटर पुगेको छ । लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माण सम्पन्न भएको छ ।
हुलाकी लोकमार्गको कुल लम्बाइ १ हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म १ हजार २५९ किलोमिटर कालोपत्रे भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर कालोपत्रे भई १ हजार २९१ किलोमिटर पुगेको छ । यसअन्तर्गतका २५० पुलमध्ये १४२ पुलको निर्माण २०८१ फागुनसम्म सम्पन्न भएको छ ।
उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ ४४७ किलोमिटरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड २४५ किलोमिटर सडकमध्ये २०८१ फागुनसम्म १९५ किलोमिटर कालोपत्रे भएको छ। मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत २०८१ असारसम्म ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्रे र १० पुलको निर्माण सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ६५ किलोमिटर सडक कालोपत्रे र १३ पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।

