विश्वकप लिग २: नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

spot_img

काठमाडौं,२८ जेठ । आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पारेको छ। यो जितसँगै नेपालले कुल १६ खेलबाट १२ अंक जोडेको छ।

डन्डी, स्कटल्यान्डमा सम्पन्न खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा २ सय ३६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमै समेटिँदै अलआउट भयो।

नेपालका लागि आरिफ शेखले सानदार अर्धशतक प्रहार गर्दै ८५ बलमा ७ चौका र २ छक्कासहित ८४ रन बनाए। भिम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले १८ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११–११ रन तथा नन्दन यादवले १० रन जोडे।

डच बलिङतर्फ पउल भान मिकेरेनले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने माइकल लेभिटले ३ विकेट हात पारे। आर्यान दतले १ विकेट लिए।

२३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि ब्यारिजले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्डले ३० रन जोडे। अन्य ब्याटरहरूबाट पनि साना तर उल्लेखनीय योगदान आए तापनि टिमले जित निकाल्न सकेन।

नेपालका लागि एकदिवसीय डेब्यु गरेका नन्दन यादव चम्किए। उनले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए। स्पिनर सन्दीप लामिछानेले पनि १० ओभरमा ३९ रन दिँदै ३ विकेट लिए। ललित राजवंशीले २ विकेट झारे भने करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले सिरिजबाट ६ महत्वपूर्ण अंक जोड्दै लिग तालिकामा मजबुत उपस्थिति देखाएको छ। अब नेपालले यही टोलीहरूसँग टी–२० सिरिज खेल्ने तयारी गरिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय