काठमाडौं, २९ जेठ । एएफसी एशियन कप छनोटको तेस्रो चरणमा निराशाजनक प्रदर्शन गरेपछि नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। मंगलबार न्यु लाओस नेसनल स्टेडियममा भएको खेलमा लाओससँग २–१ गोलले पराजित भएपछि टोली बुधबार राति नेपाल फर्किएको हो।
यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पहिलो पटक लाओससँग पराजित भएको छ। यसअघि नेपाली टोलीले कहिल्यै लाओससँग हार बेहोरेको थिएन।
एएफसी छनोटको समूह ‘एफ’ मा रहेको नेपालले यसअघि मलेशियासँग पनि हार खेपेको थियो। दुई खेलमा अंकविहीन रहँदै नेपाल समूहको पुछारमा छ। समूहमा नेपालसहित लाओस, मलेशिया र भियतनाम रहेका छन्।
नेपाली टोलीको अगिल्लो खेलमा पनि खराब प्रदर्शन देखिएको थियो, जसले टोलीको आगामी चरणमा पुग्ने सम्भावना लगभग समाप्त गराएको छ।

