काठमाडौं,२९ जेठ । एयर इन्डियाको लन्डन गेटविकतर्फ गइरहेको विमान दुर्घटनामा परेपछि अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उडान नम्बर एआई १७१, जुन अहमदाबादबाट लन्डनका लागि उडेको थियो, केही समयमै दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। सोही कारण हाल विमानस्थल बन्द गरिएको छ र अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।”
यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गरेर पछिल्लो जानकारी लिन अनुरोध गरिएको छ। “हामी यात्रुहरूको सहयोग र धैर्यताको लागि अनुरोध गर्छौं,” प्रवक्ताले भनेका छन्।
एयर इन्डियाले आफ्नो दुर्घटनाग्रस्त बोइङ ७८७–८ विमानमा सवार यात्रुहरूको विवरण सार्वजनिक गरेको छ। दिउँसो १:३८ बजे उडेको सो विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानाडाली, र सात जना पोर्चुगिज नागरिक रहेको जानकारी दिइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ, भने उद्धार तथा अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।

