काठमाडौँ,०७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर पार्ने वा समाप्त पार्ने प्रयास गर्नेहरूसँग अब कुनै प्रकारको सम्झौता नहुने स्पष्ट चेतावनी दिएका छन्।
सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले पार्टीभित्रै बसेर संगठनविरुद्ध गतिविधि गर्ने नेताहरूप्रति कडा असन्तुष्टि व्यक्त गरे।
लिङ्देनले आफ्नो जिल्लामा वडा समिति गठन गर्न नसक्ने, निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने र पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न नदिने प्रवृत्तिलाई स्वीकार गर्न नसकिने बताए। उनले यस्ता गतिविधि गर्ने नेताहरूको कुरा अब नसुनिने स्पष्ट पारे।
महाधिवेशनबारे बोल्दै उनले आफ्नो कार्यकाल लम्ब्याउने वा महाधिवेशन सार्ने कुनै इच्छा नरहेको उल्लेख गर्दै समयमै, वैधानिक र व्यवस्थित रूपमा महाधिवेशन सम्पन्न गर्न पार्टी तयार रहेको बताए। उनका अनुसार पार्टीभित्रका सबै समस्याको समाधान पनि महाधिवेशन नै हो।
देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै लिङ्देनले संसद्मा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारका गलत निर्णयको सडक र सदन दुवैबाट प्रतिवाद गर्नुपर्ने बताए।
त्यस्तै, वर्तमान सरकार र गृहमन्त्रीसम्बन्धी विषयमा उठेका प्रश्नबारे पनि उनले सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। सम्बन्धित नेताहरूले समेत आफ्ना पोजिसन स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो।
उनले अहिलेका बेतिथि सुधार्ने प्रयास भइरहेको भन्दै सकारात्मक कामको समर्थन गर्ने र गलत अभ्यासको विरोध गर्ने नीति पार्टीले लिने बताए।

