काठमाडौं,३० जेठ । हालै भएको भीषण विमान दुर्घटनामा ज्यान गुमाउने यात्रु र चालक दलका सदस्यका परिवारलाई टाटा समूहले ठूलो राहत स्वरूप प्रति परिवार एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।
एयर इन्डिया (टाटा समूहअन्तर्गत) को बोइङ ७८७–८ ड्रीमलाइनर विमान अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडिरहेको बेला दुर्घटनाग्रस्त भएको थियो। उक्त विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने एकजना बेलायती नागरिक जीवित फेला परेका छन्। दुर्घटनास्थल नजिकै रहेको बीजे मेडिकल कलेजको छात्रावासमा विमान खस्दा केही स्थानीय बासिन्दाको पनि मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ।

टाटा समूहका अध्यक्ष एन. चन्द्रशेखरनले जारी प्रेस वक्तव्यमा घाइतेहरूको सम्पूर्ण उपचार खर्च समूहले व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुर्घटनाबाट क्षति पुगेको बीजे मेडिकल कलेजको छात्रावास पुनर्निर्माणमा पनि सहयोग गरिने उनले बताएका छन्।
विमानमा सवार यात्रुहरूमध्ये अधिकांश १६९ जना भारतीय नागरिक थिए, भने अन्य ५३ बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडेली रहेको जनाइएको छ।