काठमाडौं,३० जेठ । इजरायलले इरानमाथि लक्षित आक्रमण गर्दै मध्यपूर्वमा तनावको नयाँ अध्याय सुरू गरेको छ। इजरायली रक्षामन्त्री योआभ केट्जले बिहीबार राति इरानको राजधानी तेहरानलगायत विभिन्न सैन्य तथा आणविक लक्ष्यहरूमा आक्रमण गरिएको पुष्टि गरेका छन्।
इजरायली हमलासँगै राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। इजरायली अधिकारीहरूका अनुसार दर्जनौं लडाकु विमानहरू प्रयोग गरी इरानको आणविक कार्यक्रम र रणनीतिक सैन्य संरचनाहरूलाई निशाना बनाइएको हो।
रक्षामन्त्री केट्जले आक्रमणपछि इजरायलमा आपतकालीन अवस्था घोषणा गर्दै सम्भावित इरानी प्रतिशोधको चेतावनी दिएका छन्। “इरानबाट मिसाइल, ड्रोन तथा अन्य माध्यमद्वारा प्रतिकार सम्भव छ,” उनले जनाउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
जेरुशलेममा रातिको समयमा साइरन बज्दै गर्दा स्थानीय बासिन्दाहरू बिउँझिएर सुरक्षित स्थानतर्फ भागेका थिए। उनीहरूको मोबाइलमा आपतकालीन सन्देश पनि प्राप्त भएको थियो।
इजरायली सेनाका प्रवक्ताका अनुसार यो हमला ‘पूर्वप्रतिकारात्मक, सटीक र संयुक्त कारवाही’को रूपमा भएको हो। प्रवक्ताले भने, “इरान आणविक हतियार प्राप्त गर्न धेरै नजिक पुगिसकेको छ। यस्तो हतियार इरानी शासनको हातमा परेमा इजरायल मात्र नभई सम्पूर्ण विश्वका लागि खतरा हुन सक्छ।”
यो आक्रमण त्यस्तो बेला भएको हो, जब केही घण्टाअघि मात्र अमेरिकी र इजरायली अधिकारीहरूले सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए। विश्लेषकहरूका अनुसार यो कदमले इरानको आणविक कार्यक्रमबारे चलिरहेको कूटनीतिक प्रयासमा गम्भीर प्रभाव पार्नेछ र क्षेत्रीय द्वन्द्वलाई थप गहिरो बनाउनेछ।
हालसम्म थप आक्रमणको योजना सार्वजनिक गरिएको छैन, तर इजरायलको यो कारबाहीले वैश्विक शक्तिहरूको ध्यान फेरि एकपटक मध्यपूर्वको संवेदनशील अवस्थातर्फ तानेको छ।

