काठमाडौं,३० जेठ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, राष्ट्रियसभाको बैठक भने १:१५ बजे बोलाइएको छ।
आजको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको राजस्व र खर्चको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सो प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम तय भएको हो।
यससँगै, प्रतिनिधिसभाको अर्को महत्वपूर्ण कार्यसूचीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसदमा पेश गरिनेछ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूबारे बैठकमा जानकारी गराउने कार्यक्रम पनि कार्यसूचीमा समावेश छ।
यद्यपि, पछिल्ला केही बैठकहरू प्रमुख विपक्षी दल र अन्य प्रतिपक्षी दलहरूद्वारा भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै गरिएको लगातार अवरोधका कारण नियमित कार्यसूची अघि बढ्न नसकेको पृष्ठभूमिमा आजको बैठक पनि राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।