धादिङ,३१ जेठ । धादिङको थाक्रे गाउँपालिका–८ स्थित सोप्याङखोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
फोकटपुरतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प.९६२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका थापालाई तत्काल उपचारका लागि गजुरीस्थित प्रादेशिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार, तीव्र गति नै दुर्घटनाको प्रमुख कारण देखिएको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



