काठमाडौं,०२ असार । नाइजेरियाको मध्य क्षेत्र बेन्यु राज्यमा भएको एक भीषण सामूहिक हमलामा १०० भन्दा बढी मानिसको ज्यान गएको छ। उत्तरी बेन्युको गुमास्थित येलेवाटा गाउँमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आक्रमणकारीहरूले गोली चलाउनुका साथै दर्जनौँ घरहरूमा आगो लगाएका थिए।
मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनल नाइजेरियाका अनुसार धेरैजसो पीडितहरूलाई उनीहरूकै घरभित्र थुनेर जिउँदै जलाइएको छ। यसकारण शवहरूको पहिचान गर्नसमेत मुस्किल परेको जनाइएको छ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार आक्रमणमा सयौं मानिस घाइते भएका छन् भने अझै पनि दर्जनौं बेपत्ता छन्। आक्रमणपछि गाउँमा भयावह स्थिति छ।
बेन्यु राज्यको प्रहरीले हमलाको पुष्टि गरे पनि कति मानिस मारिए र कसले आक्रमण गर्यो भन्ने विषयमा स्पष्ट जानकारी दिएको छैन। स्थानीयहरूका अनुसार हतियारधारी समूहले योजनाबद्ध ढंगमा गाउँमा हमला गरेका थिए।
बेन्यु राज्य नाइजेरियाको तथाकथित “मध्य बेल्ट” मा पर्दछ, जहाँ मुस्लिम बाहुल्यता भएको उत्तर र ईसाई बहुल दक्षिणबीचको सिमाना पर्छ। जमीन र स्रोतसाधनको नाममा त्यहाँ लामो समयदेखि जातीय र धार्मिक तनाव रहँदै आएको छ।
अनुसन्धान संस्था SBM इन्टेलिजेन्सका अनुसार सन् २०१९ यता बेन्यु राज्यमा मात्र ५०० भन्दा बढी मानिस यस्ता झडपमा मारिएका छन्। २२ लाखभन्दा बढी नागरिक आन्तरिक रुपमा विस्थापित भएका छन्।
एम्नेस्टी इन्टरनेशनलले हालैको रिपोर्टमा उल्लेख गरेको छ कि सन् २०२३ यता नाइजेरियाको मध्य र उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको हमलामा १०,२१७ जनाले ज्यान गुमाइसकेका छन्।

