त्रिदेशीय टी–२० क्रिकेट: नेपाल तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित

spot_img

काठमाडौं,०३ असार । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा तेस्रो सुपर ओभरमा पराजित बेहोरेको छ।

नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनमात्र बनाउन सक्यो। बराबरी भएपछि खेल पहिलो सुपर ओभरमा गयो, जहाँ नेपालले १९ रन बनायो, तर नेदरल्यान्ड्सले पनि १९ रन जोडेर दोस्रो सुपर ओभरमा खेल धकेल्यो।

दोस्रो सुपर ओभरसमेत बराबरीमै सकिएको थियो। नेदरल्यान्ड्सले १७ रन बनाएकोमा नेपालले पनि त्यति नै रन बनाउँदै खेललाई तेस्रो सुपर ओभरमा पुर्‍यायो।

तर तेस्रो सुपर ओभरमा नेपाल पूर्ण रूपमा ढल्यो। नेपालले ४ बलमै २ विकेट गुमाउँदै शून्य रनमै इनिङ्स समाप्त ग¥यो। जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमै शानदार छक्का प्रहार गर्दै टोलीलाई नाटकीय जित दिलाए।

यसअघि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो।

शृङ्खलाअन्तर्गत आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ। नेपालले अब आफ्नो दोस्रो खेलमा आजै घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय