काठमाडौं,०३ असार । इसराइलले इरानको सबैभन्दा ठूलो युरेनियम समृद्धिकरण केन्द्रमाथि मिसाइल आक्रमण गरेको छ। इरानको इस्फाहान प्रान्तस्थित नातान्ज आणविक केन्द्रलाई लक्षित गर्दै इसराइलले शुक्रबार राति आक्रमण गरेको हो।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यस आक्रमणमा केन्द्रको संरचनामा गम्भीर क्षति पुगेको छ। प्रयोगशाला, पावर सप्लाई प्रणालीहरू प्रभावित भएका छन् भने हजारौँ सेंट्रिफ्यूजहरू ध्वस्त भएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार करिब १५०० सेंट्रिफ्यूज नष्ट भएका र एकजना आणविक वैज्ञानिकको मृत्यु भएको उल्लेख छ।
नातान्ज केन्द्र इरानको उच्च स्तरको यूरेनियम संवर्द्धनको मुख्य थलो हो। यही केन्द्रबाट इरानले हालसम्म ६० प्रतिशतसम्म संवर्धित यूरेनियम उत्पादन गर्दै आएको थियो, जुन आणविक इन्धन र हतियारका लागि प्रयोग गर्न सकिनेस्तरमा पुगिसकेको मानिन्छ।
इरानी अधिकारीहरूले भूमिगत सुरुङहरू प्रयोग गरेर संवर्द्धन कार्य भइरहे पनि अहिले ती संरचनामा क्षति भएको स्वीकारेका छन्। वैज्ञानिकहरूलाई सुरक्षाका लागि अन्य स्थानमा सारिएको जनाइएको छ।
अन्तर्राष्ट्रिय आणविक निगरानी संस्था आईएईए (IAEA) ले घटनाबारे नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
यस हमलापछि इरानले शनिबार इसराइलको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्रमा जवाफी आक्रमण गरेको थियो। जवाफी कारवाहीअन्तर्गत सोमबार इरानले इसराइलको प्रमुख तेल प्रशोधन केन्द्रमा पनि मिसाइल प्रहार गरेको छ।
इरान–इसराइल तनाव पाँचौं दिनमा प्रवेश गरिसकेको छ। अहिलेसम्मको झडपमा इरानमा २२४ जनाको मृत्यु र १००० बढी घाइते भएका छन्। इसराइलमा पनि २४ जनाको मृत्यु र सयौं घाइते भएको विवरण सार्वजनिक भएको छ।

