काठमाडौं,१६ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सरुवा भएका कर्मचारीलाई तत्काल कार्यस्थलमा हाजिर गराउन कडा निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा विभिन्न तहमा खटाइएका कर्मचारीहरू अझै कार्यस्थलमा नपुगेको गुनासो आएपछि सम्बन्धित कार्यालयलाई उनीहरूलाई तुरुन्त हाजिर गराउन आग्रह गरिएको हो। साथै, सरुवा भएका कर्मचारीलाई रमाना (रिलिभ) दिई आवश्यक विवरण मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ।
कर्मचारीहरूलाई भने सात दिनभित्र अनिवार्य रूपमा नयाँ कार्यस्थलमा हाजिर हुन र रमाना लिन भनिएको छ। तोकिएको समयसीमा पालना नगरे कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार प्रशासनिक कार्यसम्पादन प्रभावकारी बनाउन र जनसेवा प्रवाहमा ढिलाइ हुन नदिन यस्तो कदम चालिएको हो।

