काठमाडौं,०४ असार । नेपालले स्कटल्यान्डविरुद्धको पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलमा कठिन विकेट र न्यून लक्ष्यको चुनौती पार गर्दै रोमाञ्चक जित निकालेको छ। ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा भएको खेलमा नेपालले ९८ रनको सानो लक्ष्य १ बल बाँकी छँदै २ विकेटको नाजुक अन्तरले पूरा गर्दै महत्त्वपूर्ण जित हात पार्यो।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डलाई नेपालले १९.४ ओभरमा मात्र ९७ रनमै समेट्यो। बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछाने विशेष रूपमा चम्किए। उनले ४ ओभरमा १ मेडन राख्दै केवल ११ रन खर्चेर ४ विकेट लिँदै विपक्षी ब्याटिङ लाइन ध्वस्त बनाए।
करण केसीले पनि आफ्नो १००औं टि-२० अन्तर्राष्ट्रिय विकेट पूरा गर्दै २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए। स्कटल्यान्डका लिस्क एक्लैले ४६ रन बनाएर टोलीलाई दोहोरो अंक पार गराउन सफल भए।
९८ रनको सामान्य लक्ष्य पछ्याउँदै नेपालका लागि सुरुआत चुनौतीपूर्ण रह्यो। लगातार विकेट गुमाउँदै गर्दा नेपाल दबाबमा परेको थियो। ओपनर कुशल भुर्तेलले ३५ बलमा ४ चौकासहित ४० रन बनाएर इनिङ्स सम्हाले।
दीपेन्द्र सिंह ऐरी (१४), बसिर अहमद (१३) र करण केसी (३*) जस्ता ब्याटरहरूले पनि महत्वपूर्ण योगदान दिए। अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन आवश्यक थियो। किरण ठगुन्ना (१०) आउट भए पनि सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जितसम्म पुर्याए।
यो खेल नेपाल र स्कटल्यान्डबीचको पहिलो औपचारिक टि-२० अन्तर्राष्ट्रिय खेल थियो। सन् २०१३ मा युएईमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो, तर त्यो खेल नेपालले टि-२० अन्तर्राष्ट्रिय मान्यता नपाएको बेला खेलेको थियो।
नेपालले यसअघि नेदरल्यान्ड्ससँग तीन सुपर ओभरसम्म पुगेको खेल गुमाएको थियो। अब नेपाल बुधबार नेदरल्यान्ड्ससँग र शुक्रबार स्कटल्यान्डसँग नै पुनः प्रतिस्पर्धा गर्दैछ।

