काठमाडौं,०५ असार । अमेरिकामा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अब भिसा पाउने प्रक्रियामा नयाँ नियम थपिएको छ। अब विद्यार्थी भिसाका लागि आवेदन दिनेहरूले आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक ‘पब्लिक’ गर्नुपर्नेछ।
एक महिना अघि स्थगित गरिएको भिसा प्रक्रिया अब पुनः सुरु भएको अमेरिकी प्रशासनले जनाएको छ। तर यसपटक सामाजिक सञ्जालसम्बन्धी कडा सर्त राखिएको छ, जसको उद्देश्य भनेको विदेशी विद्यार्थीको अमेरिका र त्यसका मूल्यप्रति सोच र अभिवृत्ति पत्ता लगाउने रहेको बताइएको छ।
सामाजिक सञ्जाललाई ‘प्राइभेट’ राख्ने कार्यलाई अमेरिका अब संभावित गतिविधि लुकाउने प्रयासका रूपमा लिनेछ। नयाँ नीति विद्यार्थी भिसासहित सबै प्रकारका भिसा आवेदकमा लागू हुनेछ। हाल अमेरिका अध्ययनरत ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये भारतबाट साढे ३ लाख, चीनबाट २ लाख ८० हजार र नेपालबाट करिब १७ हजार विद्यार्थी छन्। नयाँ नीति लागू भएपछि अमेरिका जान चाहने नेपाली विद्यार्थीलाई भिसा प्रक्रियामा सजग र पारदर्शी बन्न थप आग्रह गरिएको छ। अब विद्यार्थीहरूले अमेरिकी दूतावासमा अन्तर्वार्ताको समय लिन सक्ने भएका छन्। तर उनीहरूको सामाजिक सञ्जालको सामग्रीले उनीहरूको चरित्र र सोचलाई प्रतिबिम्बित गर्नुपर्नेछ।